Skip to content

Tag: Story

जेठी छोरी

काँधमा थुप्रिएको जिम्मेवारी, सपना र आत्मविश्वासको, मेरो कथा ~ सबी श्रेष्ठ

Doing my best – Hazlett

म घरकी जेठी छोरी,

जेठी भएकै कारण

बहाना गर्ने छुट कहिल्यै पाइनँ।

“मलाई आउँदैन” भन्न खोज्दा,

“तैंले नसिके पछिकाले के सिक्लान्?”

भन्ने जिम्मेवारी थपिन्थ्यो।


आफू पनि त बालकै थिएँ,

मलाई पनि कसैले स्याहारोस्,

माया गरोस् भन्ने उमेर थियो।

तर आमाझैँ बनेर

आफूभन्दा सानालाई स्याहार्नु थियो।


आमा गर्वले भन्नुहुन्थ्यो

“यो त मेरो दाहिने हात हो।”

सानोमा अर्थ बुझिनँ,

ठूलो भएपछि बुझेँ

त्यो दाहिने हातभित्र

मेरो सानो काँधमा थुप्रिएको

ठूलो जिम्मेवारी रहेछ।


खेल्ने बालापन

घरधन्दा र भाइबहिनीको हेरचाहमै बित्यो।

स्कुल पनि जान्थेँ, पढ्न पनि खोज्थेँ,

तर किताबका अक्षरभन्दा

घरका कामले बढी समय माग्थे।

कक्षा त हरेक वर्ष चढ्दै गएँ,

तर पढाइसँग दौडिन

मन र समय दुवै थाक्थे।


दश कक्षामा पुग्दा

पहिलोपटक आमाले भन्नुभयो

“अब पढाइमा ध्यान देऊ।”

त्यो वर्ष मेरो संसार

स्कुल, किताब र ट्युसन बन्यो।

अगाडि थियो सबैले डर मान्ने

त्यो “Iron Gate” S.L.C


दिनरातको मेहनतपछि

जब नतिजा आयो

म First Division मा पास भएँ।

सधैँ बल्लबल्ल पास हुने म,

त्यो दिन सबैलाई चकित पार्दै

आफैँलाई पनि चिनाएँ।


खुसीले धेरै रोएँ,

किनकि पहिलोपटक बुझेँ

मेहनत गरे सकिँदो रहेछ।

त्यो नतिजा केवल अंक थिएन,

मेरो दबिएको आत्मविश्वासले

पहिलोपटक पखेटा पाएको दिन थियो।


त्यसपछि लागेँ

सानैदेखिको सपनातिर

नर्स बन्ने बाटोमा।

मनमा अर्को सपना थियो,

नर्सिङमा Distinction ल्याउने।


र तेस्रो वर्षको अन्तिम नतिजाले

त्यो सपना पनि पूरा गरिदियो।


जेठी छोरी भएर

बालापन अलि छिट्टै सकियो होला,

जिम्मेवारी अलि चाँडै आयो होला,

तर तिनै जिम्मेवारीबीच

मैले एउटा कुरा सिकेँ


अरूको दाहिने हात बनेर हुर्किएकी म,

एक दिन आफ्नै सपनाको सहारा बनेँ।


Sabi Shrestha
Author: Sabi Shrestha

🙏

Leave a Comment